• अवैध हतियारको सन्त्रासमा मधेस

    प्रकाशित मिती :December 6, 2019

    हान – कात्तिक ६ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुझेलियाका पंकजकुमार चौधरीले सामान्य विवादमा चिनजानकै व्यक्तिमाथि पेस्तोल प्रहार गरे। गोली लागि जनकपुरधाम उपमहानगरपालिका–१ मा शिव आयल स्टोर्स चलाउँदै आएका लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका ४० वर्षीय मनोज साहको मृत्यु भयो। छातीमा दुई गोली लागेर ढलेका साहलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

    लेनदेनको विषयमा भएको सामान्य विवादमा चौधरीले आफूसँग भएको अवैध हतियार निकालेर साहको छातीमा गोली हानेका थिए। साहमाथि गोली हानेर छिमेकीको घरमा लुकी बसेको अवस्थामा चौधरीलाई प्रहरीले पक्राउ गरी एक थान स्वचालित पेस्तोल र त्यसमा लाग्ने १९ राउन्ड गोली तथा अर्को एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउन्ड गोली बरामद गरेको थियो। साहमाथि गोली प्रहार गर्ने चौधरी निर्माण व्यवसायी हुन्।

    जेठ २ गते साँझ पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–१ का ४५ वर्षीय सेख फारुकमाथि पेस्तोल प्रहार भयो। नजिककै भाइ नाता पर्ने शेख सेराजुद्दिनको अवैध कटुवा पेस्तोल प्रहारबाट फारुकले ज्यान गुमाए। नेसनल मेडिकल कलेज वीरगन्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा जेठ ३ गते बिहान फारुकको मृत्यु भयो।

    समयअन्तरमा सशस्त्र समूहको गतिविधि मधेसमा केही कम भएको छ तर अवैध हतियारको त्रास भने घटेको छैन। घरमा अवैध हतियार राखेर छिमेकीमाझ गर्व अनुभव गर्ने मनोविज्ञान हुर्किंदैछ।

    असार १९ गते महोत्तरीको बर्दिबास नगरपालिका–७ मा हतियारसहितको समूहले गाउँलाई नियन्त्रणमा लिएर डकैती ग¥यो। प्रतिकार गर्दा डाँकाले रामसुन्दर महतोसहित पाँचजनालाई कुटपिट गरी घाइते बनाए। डकैतीमा संलग्नमध्ये सर्लाही चन्द्रनगर गाउँपालिका–६ का ४५ वर्षीय देवलाल कापर एक थान नलकटुवा पेस्तोल र गोलीसहित पक्राउ परे।
    २०७५ पुस २४ गते सर्लाहीको हरिपूर्वा नगरपालिका–९ स्थित जयनारायण यादवको घरमा भइरहेको छलफलमा दुईजना युवक प्रवेश गरी पेस्तोल ताके। छलफलमा सहभागीले प्रतिकार गर्न खोज्दा उनीहरू पेस्तोल फालेर मोटरसाइकल चढेर भागे। मेड इन युएसए लेखिएका दुई थान स्वचालित पेस्तोल, दुई राउन्ड गोली र म्यागजिन प्रहरीले बरामद ग-यो।

    २०७५ साउन २४ गते सिरहाको कल्याणपुर नगरपालिका–११ मा सञ्चालित राजाराम मनी ट्रान्सफरका सञ्चालक राजाराम साहलाई चारजनाको समूहले पेस्तोल देखाई २५ लाख ६० हजार रुपैयाँ लुट्यो । सोही वर्ष जेठ महिनामा कल्याणपुरकै शिवम मनी ट्रान्सफरका कर्मचारी धनवीर यादवलाई पेस्तोल देखाएर ११ लाख ३९ हजार रुपैयाँ लुटिएको थियो।

    ससाना विवाददेखि रिसइबी, छलफलमा पनि पेस्तोल देखाउने र गोली प्रहार गर्ने घटना मधेसमा नौलो होइन। अवैध हतियारको बिगबिगीका कारण मुख्य मधेस (प्रदेश २) मा हत्याहिंसाका घटना बढ्ने क्रममा छन् । सामान्य झगडा र लेनदेन विवादमा अवैध हतियार प्रहार गर्ने र ज्यानै लिनेसम्मका घटनामा ‘स्वचालित’ पेस्तोल प्रयोग भएको पाइन्छ । प्रदेश २ का आठवटै जिल्ला भारतसँग जोडिएका छन्। खुला सिमानाका कारण सीमा वारपारको उठबस र सम्बन्धले आपराधिक गतिविधिलाई पनि मलजल गरेको प्रहरी अधिकारीहरू बताउँछन्। प्रहरीले बेलाबेला बरामद गरेका साना हतियार सीमापारि भारतबाट भिœयाएको पाइएको छ।

    प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार प्रदेशका आठ जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा ४५ थान अवैध हतियार बरामद भएको थियो। त्यसमा संलग्न ५७ जना पक्राउ परेका थिए। आर्थिक वर्ष २०७६/७७ को असोज महिनासम्म १२ थान हतियारसहित २० जना मानिस पक्राउ परेको छ।

    सहज पहुँच

    मंसिर ५ गते सिरहाको कल्याणपुर नगरपालिका–२ चतरीबाट स्वचालित पेस्तोलसहित सोही नगरपालिका–३ इटारीका २१ वर्षीय अहमद मियाँ पक्राउ परे। शंकास्पद रूपमा हिँडिरहेका मियाँलाई जाँच गर्दा उनको साथबाट ‘मेड इन युएसए’ लेखिएको सेभेन एमएमको पेस्तोल एक थान र नाइन एमएमको स्वचालित पेस्तोल एक थान बरामद भएको थियो। पेस्तोलसहित पक्राउ परेका मियाँलाई जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
    प्रहरीका अनुसार मियाँ सीमापारिका आपराधिक गिरोहबाट खरिद गरेर ल्याएको उक्त हतियार वारिको गिरोहलाई बेच्न जाँदै रहेछन्। सोही क्रममा उनी बीच बाटोबाटै पक्राउ परेका हुन्।

    प्रहरीले सानाठूला हतियार बरामद गरिरहे पनि मधेसमा अवैध हतियार प्रयोगबाट आपराधिक क्रियाकलाप पूर्ण रूपमा रोकिएको छैन। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा १८ वटा हतियारसहित १७ जना पक्राउ परे। आर्थिक वर्ष २०७६/७७ को मंसिर १३ गतेसम्म पाँचवटा हतियारसहित चारजना पक्राउ परेका छन्।

    लामो समय सिआइबीमा काम गरिसकेका सिरहा प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार अवैध हतियार नियन्त्रणमा नेपाल–भारत खुला सीमा मुख्य चुनौती हो। नेपाली–भारतीय अपराधीहरूबीच रहेको सञ्जालका कारण साना हतियार नियन्त्रण सीमावर्ती जिल्लाहरूमा चुनौतीपूर्ण बनेको छ। पारिका अपराधिबाट वारिकाले स्वचालित र अर्धस्वचालित हतियार भाडामा ल्याएर समेत अपराध कर्म गरेको पाइएको छ।

    यहाँको समाजमा एउटा प्रवृत्ति के देखिएको छ भने घरमा अवैध हतियार राख्दा त्यस्तो हतियार राख्नेले छरछिमेकमा गर्व अनुभव गर्छन्। मान्छे मार्न भन्दा पनि तर्साउन अवैध हतियार घरमा लुकाएर राख्ने गरेको उनीहरूको भनाइ छ। लुकाउन सजिलो भएकाले साना अवैध हतियार नियन्त्रण उति सजिलो नभएको सिरहा प्रहरी प्रमुख चतुर्वेदी बताउँछन्। करिब ४५ किलोमिटर खुला सीमा नाकामा हरप्रहर निगरानी राख्न पनि कठिन छ। अर्को समस्या घरघरमा साना अवैध हतियार खानतलास गर्न कानुनी झन्झट पनि छ। मधेसमा सशस्त्र समूहको बिगबिगी भएको बेला पनि मधेसका जिल्लामा काम गरिसकेका चतुर्वेदीले भने, ‘अहिले त्यति भयावह अवस्था छैन तर चुनौती पनि कम छैन।’

    प्रहरीको सक्रियाताले हतियार र हतियारधारी व्यक्ति पक्राउ पर्ने क्रम बढेको देखिन्छ। अवैध हतियार राखेको हुन सक्ने व्यक्ति र स्थानमा खोजी अभियान जारी नै छ। तर अपराधिक सूचना संयन्त्र अपेक्षित सबल नहुँदा पूर्ण सफलता पाउन कठिनाइ भइरहेको प्रहरीको भनाइ छ।

    सधैं हतियारकै त्रास
    माओवादीको सशस्त्र युद्धका बेलादेखि मधेसमा हतियारको बढी त्रास फैलिएको हो। माओवादीको सशस्त्र युद्ध शान्ति प्रक्रियामार्फत अवतरण भएर देशमा एक हदसम्म शान्ति फैलियो। तर मधेसमा अरू नै सशस्त्र समूह जन्मिए। माओवादीबाट विद्रोह गरेर २०६१ साउन १० जयकृष्ण गोइतले जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र संगठन सञ्चालन गरेपछि मधेसमा पुनः हतियारको त्रास सुरु भयो। मधेस र मधेसीको मुक्तिका लागि भन्दै उनको संगठनले तराई–मधेसमा सशस्त्र संघर्षको शंखनाद गरेलगतै ज्वाला सिंह उनीबाट अलग्गिए।

    गोइतसँगको विवाद र मतभेदका कारण मोर्चा स्थापनाको दुई वर्षमै दुई चिरा भयो। ज्वाला सिंहले आफ्नै नेतृत्वमा फेरि जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र समूह सञ्चालन गरे। त्यसपछि त जनतान्त्रिक नाम यति चल्यो कि यो नामबाट दर्जनौं समूह बाहिर आए, सप्तरीको बूढो बाजेको पेडा पसलजस्तै।

    जनतान्त्रिकको नामबाट अपहरण, चन्दा, फिरौती, व्यक्ति हत्या यति बढ्यो कि मधेसका गाउँघरबाट मधेसी नै पलायन हुन थाले। मधेस मुक्तिका लागि भनिएको त्यो सशस्त्र संघर्षलाई अवैध हतियारको आडमा कमाइको माध्यम बनाइयो। तर समयान्तरमा सशस्त्र समूहको गतिविधि मधेसमा केही कम भएको छ तर अवैध हतियारको त्रास भने घटेको छैन। नागरिक दैनिकमा समाचार छ।

    1 year ago

    Social Links

    हाम्रो टिम