• नेकपा-सीपीसी आत्मीयता

    प्रकाशित मिती :June 20, 2020

    सुरक्षा स्वार्थ जोडिएका विदेशी सहायता स्विकारिन्न : दाहालचीनको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप स्वीकार गर्न सकिन्न : सङ ताओअसार

    काठमाडौं – सत्तारूढ दल नेकपाभित्रको आन्तरिक बहसमा अहिले एकैपटक तीनवटा शक्ति राष्ट्र भारत, अमेरिका र चीन जोडिन आइपुगेका छन् । वर्षौंदेखि अतिक्रमणमा परेको नेपाली भूमि आफ्नो नक्सामा समेटेर संवैधानिक वैधता दिएपछि भारतसँग सत्तारूढ दल नेकपा र उसको नेतृत्वको सरकारको आगामी सम्बन्ध के होला भन्ने कोणबाट बहस भइरहेको छ ।

    उता शक्ति राष्ट्र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौताका कारण नेकपाभित्र राष्ट्रवाद र राष्ट्रघातको जुहारी चलिरहेको छ । एक वर्षदेखि संसदीय अनुमोदन गर्ने कि नगर्ने भन्ने किचलोले अमेरिकासँगको सम्बन्धमा समेत चिसोपनाको संकेत देखा पर्दै छ । दुई शक्ति राष्ट्र भारत र अमेरिकासँग यसरी चिसोपन बढिरहँदा अर्को ठूलो शक्ति राष्ट्र चीनसँगको सम्बन्धमा भने नेकपाको हार्दिकता र न्यानोपन झन् बढ्दै छ । त्यसैको पछिल्लो उदाहरण हो– चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र नेकपाबीच शुक्रबार भएको ‘उच्चस्तरीय भर्चुअल कार्यशाला ।’

    कोभिड–१९ महामारीका कारण आवतजावत बन्द छ । जसका कारण आपसी भ्रमण आदानप्रदान रोकिएका छन् । तर यो अवस्थामा पनि अनुभव आदानप्रदानका नाममा अन्तरक्रिया भएको छ, जसलाई दुवै मुलुकका नेताहरूले यसअघि नै चीनमा हुने गरी निर्धारित कार्यशाला भौतिक रूपमा गर्न नसकिएपछि भर्चुअल माध्यम प्रयोग गरी निरन्तरता दिएको भनेका छन् । उनीहरूका अनुसार यो कार्यशाला चीन र नेपालका सत्तारूढ कम्युनिस्ट पार्टी र सरकारबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउनुका साथै बढ्दो आत्मीयतालाई निरन्तरता दिने पुरानो सहमतिको कार्यान्वयन पनि हो ।

    तर राजनीतिक बजारमा महामारीविरुद्ध ध्यान केन्द्रित गरिरहेका बेला दुई पार्टीबीचको यो खालको आत्मीयताको निरन्तरताको व्याख्या भने अनेक कोणबाट हुन थालिसकेका छन् । समय पनि यस्तो परेको छ कि एकातिर भारतसँग चीन र नेपाल दुवैको भूमि विवादले समस्या ल्याइरहेको छ, अर्कोतिर कोभिड–१९ संकटलगायतका विषयले अमेरिका र चीनबीच वाकयुद्ध जारी छ । यही समय क्रममा नेपाल र चीनका सत्तारूढ पार्टीहरूको आत्मीयता दिगो र प्रगाढ छ ।

    चीन मामिलाका जानकार नेकपाका केन्द्रीय सदस्य मिलन तुलाधरले नेपाल र चीनबीचको सम्बन्ध अझ प्रगाढ बनाउन यो कार्यक्रम भएको बताए । ‘हुन त चीन र नेपाल दुवैको भारतसँग सम्बन्ध बिग्रिरहेका बेला यस्तो कार्यक्रम गरेर झन् चिढ्याउन खोजियो भन्ने सन्देश पनि जान सक्ला,’ उनले कान्तिपुरसँग भने, ‘भवितव्यले त्यस्तो पर्न गयो । त्यो नियतले त्यस्तो गरिएको हैन जस्तो लाग्छ तर भारतले वार्ता पनि गर्न नमानिरहेका बेला चीनसँग सम्बन्ध त बनाउनैपर्छ ।’

    उनले भारतसँग असहयोग भइरहेका बेला नेकपा र नेपालले चीन मात्रै नभएर युरोप, अमेरिका र अरू देशसँग सम्बन्ध र सम्पर्क राख्न सक्नुपर्ने बताए । ‘अहिले नै नेपाली सामान भारततर्फ निर्यात गर्न रोकिएको छ भन्ने कुरा आउँदै छ,’ तुलाधरले भने, ‘त्यसैले चीनसँग सम्बन्ध बिगार्ने भन्ने त कुरै छैन, भौतिक उपस्थितिमा भेट हुन नसक्ने यो अवस्थामा भर्चुअल कनेक्सन भए पनि राख्नैपर्छ ।’

    गत असोजमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण हुनुअघि विदेश विभाग प्रमुख सोङ ताओसहितका पदाधिकारी आएर सी विचारधारा, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई), चीनको तीव्रतर विकासको कारण र मोडेलबारे प्रशिक्षण दिएका थिए । त्यसअघि नै सीपीसी र नेकपाबीच आपसी सम्बन्ध प्रगाढ बनाउने र अनुभव आदानप्रदान गर्नका लागि दुवै पार्टीले कार्यशाला आयोजना गर्ने सहमति भएको थियो ।

    युद्धस्तरमा विकास गरिरहेको चीनको कम्युनिस्ट पार्टीले अन्य मुलुकसँग सामाजिक र राजनीतिक सम्बन्ध विस्तार गर्दै सीले अघि सारेको विचारधारालाई व्यापक प्रचार गर्न चाहिरहेको छ । त्यसका लागि उसले नेपाललाई पनि उपयुक्त ठाउँका रूपमा लिँदै नेकपासँगको सम्बन्ध विस्तार गर्ने उद्देश्यस्वरूप नै कार्यशाला आयोजना गरेको हो ।

    चीन–नेपाल सम्बन्धका जानकारहरूका अनुसार नेपालमा नेकपा सबैभन्दा ठूलो तथा सत्तारूढ पार्टी र चीनको छिमेकी हुुनुका नाताले उसले नेपाललाई प्राथमिकतामा राखिरहेको हो । त्यसैले कोरोना जोखिमका कारण तत्काल नेपाली टोली कार्यशालाका लागि चीन जान नसक्ने भएपछि सीपीसीले भर्चुअल कार्यशाला गरेर आफ्नो पार्टी र सरकारका बारेमा बताएको हो ।

    नेपाल–चीन मामिलाका जानकार कल्याण रोक्काले पनि दुई देशबीचको सम्बन्ध र सद्भावका लागि यस्ता छलफल जरुरी हुने बताए । दुवैतर्फबाट करिब सय/सय जना सहभागी भएको कार्यक्रमको उद्घाटन सम्बोधन सीपीसीका विदेश विभाग प्रमुख ताओले गरेका थिए । उनले नेकपा र सीपीसीबीचको सम्बन्ध पहिलेदेखि नै प्रगाढ रहेको बताउँदै यसलाई अझै उचाइमा पुर्‍याउनुपर्ने धारणा राखे । ‘राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण हुँदा नै दुई पार्टीबीचमा सहमति भएको थियो र त्यहीअनुसार यहाँहरूलाई चीन बोलाइएको थियो तर विविध कारणले मिलेन,’ उद्घाटन सम्बोधनमा ताओले भने, ‘हाम्रो सहकार्य जारी राख्नुपर्छ भनेर यो कार्यशाला गरिएको हो, दुई पार्टी र देशबीचको सम्बन्ध सुमधुर हुनुपर्छ ।’

    उनले महामारी हटाउन चीनले गरेको काम र उपलब्धिबारे अनुभव सुनाउन पनि यही बेला कार्यशाला गरिएको बताएका थिए । उक्त कार्यशालालाई चिनियाँ पक्षले ‘उच्चस्तरीय कार्यशाला’ भनेको छ । ताओले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी र राष्ट्रपति सीको सुझबुझपूर्ण निर्णयका कारण चीनले कोरोना नियन्त्रणमा छिट्टै उपलब्धि हासिल गरेको बताएका थिए । ‘अहिले जताततै महामारी फैलिएको छ, यो बेलामा आर्थिक र सामाजिक विकासको गति अघि बढाउनु मुख्य दायित्व हुन आउँछ,’ सम्बोधनमा उनले भने, ‘महामारीविरुद्ध दुई मुलुकले एकअर्कालाई समर्थन र सहयोग गर्नुपर्छ ।’

    एक अर्को मुलुकलाई समस्या पर्दा आपसमा सहयोग पुर्‍याउनुपर्ने धारणा ताओको थियो । आफ्नो भूमिमा चीनविरोधी गतिविधि हुन नदिने र एक चीन नीतिको मान्यतालाई दृढताका साथ पालना गरेको भन्दै उनले नेपाललाई धन्यवाद दिएका थिए । ‘ताइवानलाई एउटा प्रदेशसरह मान्ने चीनको नीतिमा नेपाल सहमत भएको छ, यसका लागि धन्यवाद,’ उनले भने, ‘चीनको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप स्वीकार गर्न सकिन्न, हामी पनि अरूलाई हस्तक्षेप गर्दैनौं ।’ कार्यशालामा उनले बारम्बार सी विचारधाराबारे व्याख्या गरेका थिए ।

    सुरक्षा स्वार्थ जोडिएका विदेशी सहायता स्विकारिन्न : दाहाल

    कार्यशालामा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपाल असंलग्न विदेश नीतिमा प्रस्ट रहेको बताएका थिए । उनले नेपालको सार्वभौमसत्ता र असंलग्न विदेश नीतिको समर्थन गरेको चीनलाई धन्यवाद दिए । अध्यक्ष दाहालले सुरक्षा स्वार्थ जोडिएका र नेपालको संविधानसँग बाझिने विदेशी सहायता नेपालले स्वीकार गर्न नसक्ने बताएका थिए । ‘संविधानको मर्मबाहिर हुने गरी तथा कुनै पनि प्रकारको सैन्य गठबन्धनमा संलग्न हुने अर्थ दिने सहयोग नेपाललाई स्वीकार्य छैन,’ दाहालले भने, ‘नेपाल असंलग्न परराष्ट्र नीतिमा प्रतिबद्ध छ । हाम्रा असंलग्न नीतिलाई समर्थन गर्ने मित्रराष्ट्रहरूको सहयोगको हामी स्वागत गर्छौं ।’

    अमेरिकी अनुदानसम्बन्धी ‘एमसीसी’ सम्झौता अनुमोदन गर्ने या नगर्ने भन्नेबारे नेकपाभित्र रापताप बढिरहेका बेला अध्यक्ष दाहालको यस्तो भनाइ आएको हो । घुमाउरो भाषामा एमसीसीको विरोध गरेका अध्यक्ष दाहालले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को भने प्रशंसा गरे । उनले चिनियाँ कम्युनिस्ट पार्टीसँग मिलेर समृद्धि, शान्ति र सद्भावका लागि काम गर्ने चाहना अझै धेरै रहेको बताएका थिए । अध्यक्ष दाहालले बीआरआईले बहुआयामिक कनेक्टिभिटी, विकास र समृद्धिका लागि सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे । उनले कोभिड–१९ को महामारी सकिएलगत्तै आफू नेतृत्वको उच्चस्तरीय टोली चीन भ्रमणमा जाने बताएका थिए ।

    यसअघि गत मंसिर अन्तिम साता दाहाल नेतृत्वको ६० सदस्यीय टोली चीन भ्रमणमा जाने तयारी थियो । त्यही बेलामा रोकिएको भ्रमण दलका सदस्यहरू र केही नयाँ नेताहरूलाई समावेश गरेर शुक्रबार कार्यशाला गरिएको हो । स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले पनि एक चीन नीतिमा नेपाल प्रतिबद्ध रहेको बताएका थिए । उनले कोभिड–१९ नियन्त्रणमा सरकारले गरिरहेको कामबारे बताउँदै चीनले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।

    विदेश विभाग बेखबर

    नेकपा र सीपीसीबीचको सम्झौतापछि भएको पहिलो उच्चस्तरीय कार्यशालाबारे नेकपाको विदेश विभागले भने अत्तोपत्तो पाएन । नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालले कार्यशालाबारे थाहा नभएको बताए । पहिले दुई पार्टीबीच अन्तरक्रिया गरी अनुभव आदानप्रदान गर्ने सहमति भएको उल्लेख गर्दै उपप्रमुख रिजालले शुक्रबारको गोष्ठीमा विदेश विभागका कसैलाई पनि नबोलाइएको बताए ।

    नेकपाको विदेश विभाग प्रमुख वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल हुन् । दुई पार्टीबीच यस्ता अनुभव आदानप्रदान गर्ने सम्झौतामा नेपाल र सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओबीच सम्झौता भएको थियो । स्कुल विभागका उपप्रमुख वेदुराम भुसालले भने स्कुल विभागले पनि स्वायत्त रूपमा कार्यक्रम गर्न सक्ने भएकाले जानकारी गराउनैपर्छ भन्ने कुनै जरुरी नरहेको बताए । ‘हामीले कार्यक्रम गरिसकेपछि विदेश विभागलाई रिपोर्ट बुझाउने हो, त्यो बुझाइहाल्छौं,’ भुसालले भने ।

    चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग, चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वशासित कमिटी र नेकपाको केन्द्रीय पार्टी स्कुल विभागको संयुक्त आयोजनामा भएको कार्यशालामा अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका नेकपा स्कुल विभाग प्रमुख ईश्वर पोखरेल र नेकपाका केन्द्रीय नेताहरू गरी सय जना सहभागी थिए । कान्तिपुर दैनिकबाट

    3 months ago

    Social Links

    हाम्रो टिम