• क्लिन फीड श्रावण १ गतेदेखि नै लागु गर्न ज्ञापनपत्र

    प्रकाशित मिती :July 15, 2020

    काठमाडौं – सरकारसँग मिडियासम्वन्धी संघसंस्थाहरुले अविलम्ब क्लिन फिड नीति लागू गर्न माग गरेका छन् । मन्त्री परिषदले सो नीति पारित गरिसकेको अवस्थामा पनि कार्यान्वयनमा नआएको भन्दै उनीहरूले बुधबार सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडालाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।

    ज्ञापनपत्र बुझाउनेहरूमा नेपाल मिडिया सोसाइटी, नेपाल विज्ञापन संघ (आन), ब्रोडकास्टिंग एशोशिएशन अफ नेपाल (बान) र सामुदायिक रेडियो प्रसारक संघ (अक्युराव) रहेका छन् ।

    उनीहरूले सञ्चारमन्त्री खतिवडालाई भेटेर आगामी कार्तिक ८ गतेदेखि लागु हुने भनिएको क्लिन फीड नीतिलाई नयां आर्थिक बर्ष अर्थात् श्रावण १ गतेदेखि नै लागु गर्न ज्ञापनपत्र पेश गरेका छन् ।

    यस्तो छ ज्ञापनपत्रको पूर्णपाठ

    तत्काल क्लिन फिड नीति लागू गर्ने बारे संयुक्त ज्ञापनपत्र

    माननीय सूचना तथा सञ्चार प्रविधि मन्त्रीज्यू,
    सिंहदरबार, काठमाडौं ।

    विगत धेरै वर्षदेखि नेपाली मिडियाहरुले नेपाल सरकारसँग क्लिन फिड नीति लागू गर्न माग गर्दै आइरहेको सन्दर्भमा नेपाल सरकार, मन्त्रीपरिषदको मिति २०७३÷४÷७ गतेकोे बैठकद्वारा नेपालमा वितरण भइरहेका विदेशी टीभी च्यानलमा क्लिन फिड लागू गर्ने नीति पारित गरेको थियो । त्यो विविध कारणले तत्काल लागू हुन सकेन । तर वर्तमान सरकार बनेपछि विज्ञापन सम्वन्धी व्यवस्था गर्न बनेको विधेयकमा ‘क्लिन फिड’ नीति लागू गर्ने स्पष्ट कानुनी व्यवस्था गरेकोमा नेपाल मिडिया सोसाइटी, अक्युराव, बान, र नेपाल विज्ञापन संघ लगायतका मिडियासम्वन्धी संघसंस्थाहरुले हार्दिक स्वागत गरेका थिए ।

    विदेशी च्यानलमा क्लिन फिड नीति भनेको नेपालको सीमाभित्र प्रसारण, वितरण हुने विदेशी टीभी च्यानल पूर्णरुपमा विज्ञापन रहित हुनुपर्दछ भन्ने नै हो । विदेशी च्यानलको नेपालमा वितरण भन्नाले कुनै पनि प्रकारले नेपालमा आउने विदेशी माध्यम (केवल, डिटिएच, इन्टरनेट, सामाजिक सञ्जाल, युट्युव लगायत डिजिटल प्लेटफर्म) भन्ने पनि स्पष्ट गरिनु पर्दछ ।
    स्वदेशी उत्पादन र उद्योगलाई समेत यो नीतिले सहयोग र विस्तारका लागि प्रवर्धन गर्नुका साथै परनिर्भरतलाई समेत कम गर्न सघाउ पुर्याउंछ भनेर हामीले बारम्वार पैरवी गर्दै र क्लिन फीड नीति तत्काल लागू गर्न माग गर्दै आएका छौं ।

    यो नीति कसैविरुद्ध लक्षित नभएर नेपालका सबै व्यवसायी, नेपाल सरकार र जनताका पक्षमा केन्द्रित र सार्वभौम तथा राष्ट्रवादी मान्यता हो ।
    तर केही समययता खासगरी नेपालले आफ्नो परिमार्जित नक्सा जारी गरेपछि केही भारतीय संचारमाध्यमहरुबाट नेपाल र सम्माननीय प्रधानमन्त्रीज्यू र अर्को छिमेकी देशको समेत नाम जोडेर कपोलकल्पित, दुराशयपूर्ण एवं भ्रामक समाचार प्रकाशित र प्रसारित गरिरहेका छन् । अहिले अझ बिदेशी राजदुतसँग नेपाली नेताहरुलाई समेत जोडेर एकदम तल्लो स्तरको टिप्पणी पनि गर्न थालेका छन् । यस्ता घटनाप्रति हामी घोर भत्र्सना गर्दै खेद प्रकट गर्दछौं । भारतीय मिडियाहरुको नेपालप्रतिको रबैयाले एकातिर पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य, मान्यता, अभ्यास र सामान्य सिद्धान्तको खिल्ली उडाएको छ भने अर्कोतिर भारतीय मिडियाले आफैलाई नंग्याएको छ ।
    यस्ता दुष्प्रचारयुक्त सामग्रीहरुले दुई देश बीचको मित्रवत सम्बन्धमा र सदियौंदेखि दुई देशका जनताबीच रहेको आपसी सद्भावमा प्रतिकूल प्रभाव पार्न सक्ने परिस्थिति पनि सृजना हुंदै गएको छ । त्यसलाई धेरै हदसम्म रोक्नका लागि पनि आगामी कार्तिक ८ गतेदेखि लागु हुने भनिएको क्लिन फीड नीतिलाई नयां आर्थिक बर्ष अर्थात् श्रावण १ गतेदेखि नै लागु गर्नु सबै दृष्टिकोणले उपयुक्त हुने हामी सबैको ठहर छ ।
    नेपालमा क्लिन फिड नीति लागू गर्ने विषयमा कम्तीमा एक दशकदेखि प्रशस्त मात्रमा सरोकारावालाहरुदेखि विज्ञहरुसम्म निरन्तर बहस, पैरवी भएको र नेपालका मिडियासंग सम्वन्धित सबै संघसंस्थाहरुको साझा आवाज पनि भएकाले यसलाई तत्काल लागु गर्न हामी जोडदार माग गर्दछौं ।
    विदेशी च्यानललाई विज्ञापनरहित गर्नु भनेकोे आयात निरूत्साहित गरेर नेपालको व्यापार घाटा कम गर्ने र उत्पादनशील क्षेत्रलाई लागत प्रतिस्पर्धी बनाउने एउटा महत्वपूर्ण कदम पनि हो । क्लिन फिडको सिधा लाभ राष्ट्रले पाउंछ । तसर्थ बिलम्ब नगरी यो नीति कार्यान्वयन गर्नु देश र जनता सबैको हितमा रहेको छ ।
    विज्ञापन रहित क्लिन फिड नीति आगामी १ श्रावण २०७७ देखि नै कार्यान्वयन गर्न पुनः एकपटक माननीय मन्त्रीज्यू मार्फत् हामी नेपाल सरकारसमक्ष विशेष अनुरोध सहित माग गर्दछौं ।

    अध्यक्ष अध्यक्ष शुभशंकर कँडेल रबीन्द्रकुमार रिजाल (शशी) नेपाल विज्ञापन संघ
    नेपाल मिडिया सोसाइटी
    केन्द्रीय कार्यालय, दरबारमार्ग, काठमाडौं ।

    अध्यक्ष अध्यक्ष चन्द्र न्यौपाने सुवास खतिवडा ब्रोडकाष्टिंग एशोशिएशन अफ नेपाल (बान) सामुदायिक रेडियो प्रसारक संघ (एक्युर्याव)

    बोधार्थ,
    सम्माननीय प्रधानमन्त्रीज्यू
    मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौं ।

    मिति : २०७७–०३–२८

    2 months ago

    Social Links

    हाम्रो टिम